Tuesday, June 7, 2011

गोर्खा नेपाल ब्रिटेन सम्बन्धको मुल आधार - राजदुत चालीसे

बेलायतका लागि नेपाली राजदुत डा. सुरेशचन्द्र चालीसेले गोर्खाहरु नेपाल ब्रिटेन सम्बन्धको मुल आधार भएको बताएका छन । नेपाल बेलायत सम्बन्ध कुनै नेता तथा राजदुतले बनाएको नभई गोर्खाहरुको बहादुरीकै कारण मजबुद भएको उनले बताए । नेपाल मगर संघ युकेले २५५५ औं बुद्व जयन्तीको अवसर पारेर आयोजना गरेको कार्यक्रममा राजदुत चालीसेले बहादुर दिप प्रसाद पुन तथा भिक्टोरीया क्रस विजेताहरुले नेपालको शिर उचो राखेको दावी गरे । आफ्नो करीब १५ महिना बेलायत बसाईका क्रममा बेलायती महारानी देखि प्रधानमन्त्री सम्मले गोर्खाहरुको वीरता केलाएको राजदुतले स्मरण गरे । क्यास्पीसियस अवार्ड विजेता सार्जन दिप प्रसाद पुनलाई सम्मान गर्दै राजदुतले नेपाल बेलायत सम्बन्धमा नयां आयाम थपिएको बताए ।

कार्यक्रममा नेपाल मगर संघ युकेका अध्यक्ष रिटायर्ड मेजर कुल बहादुर थापाले नेपालमा अझै संविधान बन्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले नयां बन्ने संविधानले सबै जनजातीहरुको भावना प्रतिनिधित्व गर्नुपर्ने बताए । थापाले नेपाली नेताहरुमा देशप्रतिको चिन्ता कम भएको बताउंदै बुद्व भगवानले सद्बुद्धि दिउन भन्ने कामना गरे । फार्नबरोस्थित रग्बीक्लव मैदानमा भएको कार्यक्रममा मगर संघ युकेका उपाध्यक्ष दुध बहादुर पुनले अतिथिहरुलाई स्वागत गरेका थिए । त्यस्तै अर्का उपाध्यक्ष हेम थापाले बुद्धत्वका बारेमा प्रकाश पारे ।

दुई चरणमा विभाजित कार्यक्रमको पहिलो खण्डमा भगवान गौतम बुद्धको पुजा आराधना गरीएको थियो । दोश्रो चरणमा नेपालबाट बोलाइएका कलाकार तथा स्थानीय सांस्कृतिक टोलीहरुले नाचगान गरी रमाइलो मनाएका थिए । कार्यक्रममा दोहारी गायक रामजी खांणले आधा दर्जन बढि गितहरु गाए । त्यस्तै नव गायीका रुपा रानाले स्टेजमा सयौं दर्शकहरुलाई नचाइन । कार्यक्रममा युवा कलाकारहरुले शहिद लखन थापाको जीवनीमा आधारीत नाटक प्रदर्शन गरेका थिए । सांस्कृतिक कार्यक्रमको साचालन विसन थापा तथा रुपा रानाले गरेका थिए ।

करीब २ हजार दर्शकहरु रहेको सो कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधहरु व्यापारी तथा फार्नबरो क्षेत्रका काउन्सीलरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दुतावासका उपनियोग प्रमुख झपेन्द्र अर्याल काउन्सीलर गणेश अधिकारी एन आर एन अध्यक्ष सुर्य गुरुङ उपाध्यक्ष कुल आचार्य विजय थापा नेपाली टेलीभिजनका सीइओ मोहन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

back to top